वीरगञ्ज — पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नेहरूको लहर निरन्तर बढिरहेको छ। यसै क्रममा जगरनाथपुर गाउँपालिका वडा नम्बर–२ का समाजसेवी तथा चर्चित युवा नेता मनोज कुमार केवटले नेकपा एमाले परित्याग गरी रास्वपामा औपचारिक रूपमा प्रवेश गरेका छन्।
हिजो आयोजित एक कार्यक्रममा केवटसहित करिब ३५० जना अगुवा नेता तथा कार्यकर्ताहरूले सामूहिक रूपमा रास्वपामा प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई पर्सा क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकबहादुर शाक्यले टीका लगाई सम्मानसहित पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै नेताहरूले रास्वपाको वैकल्पिक राजनीति, पारदर्शिता र सुशासनको एजेन्डाबाट प्रभावित भई पार्टी रोजेको बताएका थिए। स्थानीय स्तरमा रास्वपाप्रति आकर्षण बढ्दै गएको उनीहरूको भनाइ थियो।
पार्टी प्रवेश कार्यक्रममा बृजेश्वर प्रसाद चौधरी, सन्तोष कुमार केवट, प्रसुराम साह, भरत आचार्य, शिवजी साह कलवार, धनञ्जय यादव, पन्नालाल महतो कोइरी, सुशील चौरसिया, सुधीर कुमार केवटलगायत स्थानीय नेता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीय तहमा रास्वपाको संगठन विस्तारसँगै आगामी निर्वाचनमा पार्टीको प्रभाव अझ सशक्त बन्दै गएको नेताहरूले दाबी गरेका छन्।
ADVERTISEMENT

