काठमाडौँ । सांसदहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मधेस प्रदेशलाई हेपेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुले खाद्य व्यवस्था कम्पनीले चाडपर्व लगायत अन्य समयमा समेत मधेस केन्द्रित कार्यक्रम र सहुलियत पसल समेत नराखेर हेपेको आरोप लगाएका हुन् । सांसदहरुले राज्य सत्ताले मधेसलाई हेर्ने दृष्ट्रिकोणमा जस्तै खाद्य कम्पनीले समेत त्यहीअनुसार हेपेर मधेसमा कुनैपनि कार्यक्रम नराखेको भन्दै आपत्ति जनाए । उनीहरुले सबैभन्दा गरिबी र विपन्नता रहेको मधेसको लागि सहुलियत पसल समेत नराख्नु नराम्रो भएको बताए । उनीहरुले खाद्यको भण्डार मधेस प्रदेश हुने तर मधेस केन्द्रित खाद्यले कुनैपनि शब्द समेत नराख्नु ठिक नभएको भन्दै सांसदहरुले मधेस केन्द्रित कार्यक्रम बनाउन आग्रह गरे ।
बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले राज्यसत्ताले हेपेको जस्तै खाद्य कम्पनीले पनि मधेस प्रदेशलाई हेपेको आरोप लगाए । उनले नेपालको मधेस प्रदेश ८ जिल्ला करिब ५० प्रतिशत जनसंख्या बस्ने गरेको भन्दै मधेस प्रदेशको नाममा कम्पनी कार्यक्रममा कतै पनि नाम निशाना नभएको भन्दै आक्रोशित भए । उनले कम्पनीबाट वितरण हुने खाद्यान्न नागरिकको लागि धनगढी, महेन्द्रनगर, नेपालगन्ज, बिर्तामोड, भैरहवा, संखुवासभा, बुटवल मात्रै हुने तर मधेस प्रदेशको एक ठाउँमा पनि नहुने किन भन्दै प्रश्न गरे । उनले नेपालको सबै भन्दा बढी उत्पादन हुने ठाउँ मधेस भएको भन्दै मधेसमा धान,गहुँ,उखु उत्पादन हुने बताए । उनले मधेसका जनतालाई सहुलियत चाहिँदैन भन्दै प्रश्न गरे । उनले खाद्य कम्पनी नेता र मन्त्रीका आफन्त भर्ती केन्द्र बन्न नहुने बताए ।
प्रतिनिधि सभाकी सांसद तथा समिति सदस्य रेखा यादवले पनि खाद्य कम्पनीले मधेस र अन्य ठाउँका जनतालाई हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको बताइन् । उनले कम्पनीको समेत मधेसलाई हेर्ने दृष्टिकोण फरक किन भइरहेको छ भन्दै प्रश्न गरिन् । उनले धोती र कुर्ता लगाउनेले उब्जाएको खाएर स्वस्थ बन्ने तर मधेसको लागि सहुलियत लगायतका कार्यक्रम लैजान खाद्य कम्पनीलाई कसले रोक्यो भन्दै प्रश्न गरिन् । उनले खाद्य संस्थानले मधेसका किसानले उत्पादन गरेको धान नकिनेकाले भारतमा गइरहेको पनि बताइन् । बैठकमा सांसद सीता मिजारले खाद्य कम्पनीले देशभरका गरेको काम सन्तोषजनक नभएको बताइन् । उनले खाद्य कम्पनीले जनतालाई खाद्य सम्बन्धी काम पारदर्शी र देखिने गरी गर्न आवश्यक रहेको बताइन् । उनले पोखरा लगायतका अन्य ठाउँका खाद्य कम्पनीका कर्मचारीहरुलाई कति कारोबार हुन्छ र कर्मचारी कति हुन्छन् भन्ने अपडेट समेत जानकारी नहुने गरेको बताइन् । उनले खाद्य कम्पनीले आफ्नो भवनहरु भाडामा लगाएर भाडा लिइरहेको पाएकाले कम्पनीको आम्दानीमा त्यो पनि देखाउन आवश्यक रहेको बताइन् । उनले सातै प्रदेशमा कम्पनीले गरेको आम्दानीको विषयमा पनि समितिलाई जानकारी दिन माग गरिन् ।

