सुशासनको अभियानमा सरकारले विश्राम लिदैन : उपप्रधानमन्त्री श्रेष्ठ
zeenepal
२०८० माघ २५,
6
Shares
महोत्तरी — उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियान अब नरोकिने बताएका छन् । महोत्तरीको बर्दिवास नगरपालिका-३ गौरीडाँडामा कम्युन उन्मुख सामुहिक बसोबास आधारशिलाको २१ औं वार्षिकोत्सवमा उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको अभियानमा अब विश्राम नलिने अडान प्रस्तुत गरे ।राज्यलाई विभिन्न ढंगले जालसाजी, किर्ते गरेर ठगी गर्ने र देश लुटेर खानेलाई कारबाहीको प्रक्रियामा ल्याउने र राज्यको सम्पत्ति फिर्ता लिने अभियानमा सरकारले अभियाननै चलाएको उनले बताए ।
बाँसबारी छाला जुत्ता कारखाना रहेको १० रोपनी जग्गामा बिहीबार 'यो सरकारको जग्गा हो, दाबी भए २१ दिन भित्र आउनु' भनेर म्याद टाँस गरिसकिएको उनले जानकारी दिए । 'सरकारले चालेका हरेक पाहिल्यैपिच्छे भ्रष्टाचारीलाई कारबाही गर्लास् भन्ने खबरदारी आउँछन्,' उनले भने, 'तर मलाई यो स्वीकार्य छैन, देश लुट्ने र भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कारबाही हुन्छ ।'
उनले सत्तामा पटक-पटक बसेका, राज्यमा पहुँच भएका धनाड्य वर्ग, राजनितिकर्मी र कर्मचारीबाटै देश लुटिएको बताए । 'सुकुम्बासी, गरिब र दुखीलाई कारबाही गर्ने कुरा हैन, यो देश लुट्ने, ठग्ने र भ्रष्टाचार गर्नेहरुलाई कारबाही गर्ने कुरा हो । यसमा कसैले वक्तव्यबाजी गर्नुपर्दैन,' उनले भने ।सबैले सरकारले खुट्टा कमाउँला कि भनेर आशंका गरिरहेको प्रति लक्षित गर्दै उनले सरकारले सुशासनको अभियानमा ब्रेक नलगाउने स्पष्ट पारे ।