काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बयान लिएको छ ।सिंहदरबारस्थित गृह मन्त्रालयको पुरानो भवनमा रहेको आयोगको कार्यालयमा पुगेर उनले केहिदिन अघि बयान दिएको समितिका एक सदस्यले बताए ।
मन्त्रिपरिषद्को १६ पुसमा बसेको बैठकले बालकुमारी घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा समिति बनाएको थियो । समितिमा प्रहरीका पूर्वएआईजी अरुण बिसी र गृह मन्त्रालयका सह–सचिव नारायणप्रसाद भट्टराई सदस्य छन् ।आयोगलाई घटनामा भएको मानवीय, भौतिक लगायत क्षतिको विवरणको अध्ययन र विश्लेषण गर्ने जिम्मेवारी छ । घटनाको कारण, सुरक्षा प्रबन्ध र सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने जिम्मा पनि आयोगलाई दिइएको छ ।
घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाका सम्बन्धमा अध्ययन गरी दोषी देखिएकालाई कारबाहीको सिफारिस गर्ने र आगामी दिनमा त्यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपायसहितको सिफारिस गर्न पनि आयोगलाई भनिएको छ । आयोगलाई एक महिनाको समय दिइए पनि फेरि १५ दिन म्याद थप गरिएको थियो ।
ADVERTISEMENT

