काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग टेलिफोन वार्ता गर्ने भएका छन् ।रुसी सेनामा भर्ती भएका नेपाली नागरिकका विषयमा छलफल गर्न उपप्रधानमन्त्री श्रेष्ठले समकक्षी सर्गेइसँग टेलिफोन वार्ता गर्न लागेका हुन् ।टेलिफोन वार्तामा रुसी सेनामा भर्ती भएकाहरूको स्वदेश फिर्ती, रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा अंगभंग भएका र ज्यान गुमाएका परिवारलाई क्षतिपूर्तिको व्यवस्था र मृतकको शव फिर्ताका विषयमा कुरा हुने परराष्ट्रमन्त्री श्रेष्ठले जानकारी दिए ।रुसी सेनामा भर्ती भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्नुपर्छ भन्ने कुरा प्रमुख हो । ज्यान गुमाएका, अंगभंग भएका र अलपत्र परेकाहरूको क्षतिपूर्तिको विषय पनि हाम्रो प्राथमिकतामा छ’, श्रेष्ठले अनलाइनखबरसँग भने ।
नेपाल सरकारलाई रुसी रक्षा मन्त्रालयले पठाएको विवरणअनुसार अहिलेसम्म रुसी सेनामा कार्यरत १२ जनाको ज्यान गएको छ । त्यसबाहेक बाँकी कति संख्यामा नेपालीहरू रुसी सेनामा कार्यरत छन् र उनीहरूको अवस्था के छ भन्ने बारेमा जानकारी नेपालसँग छैन ।परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागमा भने २०० भन्दा बढीका परिवारले उद्धारका लागि आग्रह गर्दै निवेदन दिएका छन् ।
साथै, केही समयअघि मात्रै रुसले युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई दिने क्षतिपूर्ति दूतावासमार्फत उपलब्ध गराउन तयार भएको थियो ।
मृतकका परिवारका सदस्य रुस पुगेरै क्षतिपूर्ति लिनुपर्ने बताइरहँदा परराष्ट्र मन्त्रालयको पहलपछि रुस दूतावासमार्फत क्षतिपूर्ति दिन तयार भएको थियो ।रुसी सेनामा भर्ती भएका नेपाली, युक्रेन युद्धमा मारिएका नेपालीहरूको शव फिर्ता र क्षतिपूर्तिलगायत विषयमा छलफल गर्न तय भएको टेलिफोन वार्ता सत्ता गठबन्धन परिवर्तन भएसँगै अन्योलमा परेको थियो ।नयाँ गठबन्धन बनेपछि बुधबार परराष्ट्र मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री श्रेष्ठले पाएपछि बिहीबार उक्त वार्ता हुने भएको हो ।
ADVERTISEMENT