काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले संवैधानिक तथा कानुनी व्यवस्था हुँदाहुँदै पनि नेपालमा प्रत्यक्षरुपमा छुवाछूत तथा जातीय भेदभावजन्य घटनाहरू भइरहेको भन्दै तीनै तहका सरकारलाई छुवाछूतसम्बन्धी घटनालाई निर्मूल गरी जातीय विभेदमुक्त वातावरणको सुनिश्चितता गर्न आग्रह गरेको छ । बिहीबार अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै आयोगले नेपालमा सामाजिक सञ्जालबाट पनि भेदभाव हुने प्रवृत्ति बढेको पाइएको जनाएको छ । आयोगका सह–सचिव तथा प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालबाट समेत भेदभाव तथा घृणाजन्य शब्दहरूको प्रयोग गरी मानव मर्यादामा आँच पु-याउने प्रवृत्ति बढ्दै गएको अनुगमनबाट पाइएको उल्लेख छ ।
आयोगले तीनै तहको सरकारलाई भेदभावका घटनामा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै जातीय विभेदमुक्त वातावरण बनाउन आग्रह गरेको छ । ‘जातीय विभेदका सबै घटनाहरूको सूक्ष्म अनुसन्धान गरी दोषीहरूलाई कानुनी दायरामा ल्याउन, समाजमा घट्ने गरेका जातीय विभेद तथा छुवाछूतसम्बन्धी घटनालाई निर्मूल गरी जातीय विभेदमुक्त वातावरणको सुनिश्चित गर्न आयोग तीनै तहका सरकारलाई आग्रह गर्दछ ’ विज्ञप्तिमा उल्लेख छ ।

