नेपालगञ्ज, चैत । नेपाली कांग्रेस बाँकेले भेरी अस्पतालमा उपचाररत विरामीलाई फलफूल वितरण गरेको छ । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवसमा कांग्रेसले आज विहान फलफूल वितरण गरेको हो ।फलफूल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीले नेपाली राजनीतिमा कोइरालाको अतुलनीय योगदान रहेको चर्चा गर्दै उनलाई शान्ति नायकका रुपमा चित्रण गरे । संघीय लोकतान्त्रिक गणतन्त्रका नायक मानिने कोइरालाले सुरु गरेको शान्ति प्रक्रियालाई दिगोरुपमा व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ । गिरिजाप्रसाद कोइरालामा जस्तो दृढ राजनीतिक इच्छाशक्ति अहिलेको पुस्तामा पनि आवश्यक रहेको अधिकारीको भनाई छ ।
कार्यक्रममा उपसभापति कृष्णबहादुर कार्की, भेरी अस्पतालका अध्यक्ष विरेन्द्र बहादुर शाह, प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. पवनजंग रायमाझी लगायत कांग्रेस नेता कार्यकर्ता उपस्थित थिए । कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । भेरी अस्पतालमा उपचाररत १०० जना विरामीलाई फलफूल वितरण गरिएको नेपाली कांग्रेस बाँकेका कार्यालय सचिव अमित कँडेलले जानकारी दिए ।
गिरिजाप्रसाद कोइराला भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा वि.स. १९८१ असार १८ मा जन्मेका हुन् । गिरिजाप्रसाद कृष्णप्रसाद कोइराला तथा दिव्या कोइरालाका कान्छा छोरा हुन् । उनको जन्म हुँदा उनका बुबा–आमा निर्वासित जीवन बिताइरहेका थिए । उनी चार पटक नेपालको प्रधानमन्त्री भएका थिए । उनका दुई दाजुहरू विपी कोइराला तथा मातृकाप्रसाद कोइराला पनि नेपालका प्रधानमन्त्री भएका थिए । कोइरालाको निधन २०६६ साल चैत्र ७ गते ८५ वर्षको उमेरमा छोरी सुजाता कोइरालाको घरमा भएको थियो ।सशस्त्र संघर्ष गरिरहेको नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई एक निर्भिक र निडर नेताका रूपमा लिने गरिन्छ ।