बुटवल । नेकपा एमालेको रुपन्देही जिल्ला कमिटीको अधिवेशन जेठ १६ र १७ गते हुने भएको छ ।प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष लगायतका नेताहरुको उपस्थितिमा बिहीबार बुटवलमा बसेको जिल्ला कमिटीको दशौं पूर्ण वैठकले अधिवेशनको मिति तोको हो ।बैठकले चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसक्नुपर्ने निर्णय पनि गरेको उपसचिव हितराज पन्थीले जानकारी दिए ।
सदस्यता नवीकरण नगर्नेले उम्मेदवार हुन र प्रतिनिधि हुन नपाउने पन्थीले बताए ।रुपन्देहीमा एमालेका १६ हजार ८८ जना पार्टी सदस्य छन् । यो संख्याबाट करिब ८ सय हाराहारी प्रतिनिधि चयन भई अधिवेशनमा सहभागी हुनेछन् ।जेठ पहिलो हप्ता प्रतिनिधि छनोट भइसक्नेछन् । अधिवेशन सम्पन्न गर्न जिल्ला अध्यक्षको संयोजकत्वमा मूल आयोजक समिति तथा पदाधिकारीहरुको संयोजकत्वमा अन्य विभिन्न उपसमतिहरु गठन भएका छन् ।
यस्तै जिल्ला सचिवको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन कमिटी गठन भएको छ । जसमा २ जना उपसचिव, ५ जना क्षेत्रीय संयोजक गरी ८ जना रहने छन् ।अधिवेशनमा नेतृत्व चयनमा सहमतिको अधिकतम प्रयास हुने तर हुन नसके नलम्ब्याई तरुन्त निर्वाचनमा जानुपर्नेमा नेताहरुबीच समझदारी बनेको एक जिल्ला पदाधिकारीले बताए । रुपन्देहीमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुट छ ।अधिवेशनमा सहमतिबाट नेतृत्व चयनको सम्भावना कमजोर रहेकाले दुई पक्षले प्यानल बनाएर प्रतिस्पर्धा गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।