काठमाडौँ । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले बुढानीलकण्ठ स्कुलको छात्रवृत्ति कार्यक्रमबारे भिडियो सार्वजनिक गरेकी छन् ।भिडियोमा उनले जेहेन्दार बालबालिकाहरूलाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा बुढानीलकण्ठ स्कुलमा पढ्न चैत्र २९ गते परीक्षा सञ्चालन गर्न लागिएको बताएकी छन् । उक्त जानकारी सबै माझ पुर्याइदिन समेत उनले अनुरोध गरेकी छन् ।उनले भिडियोमा भनेकी छन्, ‘...आज मैले एकदम एक्साइटिङ न्युज ल्याएर आएकी छु । तपाईंहरू सबै जनालाई भन्नै पर्ने छ । मेरो आग्रह छ अनुरोध छ, सबै नेपालीमा पुर्याइदिनुहोला है । बुढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रम अन्तर्गत छात्रवृत्ति परीक्षा सम्बन्धी सूचना छ ।...यो लक्षित वर्गसम्म नपुग्न सक्छ । तपाईंहरू सबैले भनिदिनुहोला...।’
यसरी एउटा विद्यालयमा मात्रै छात्रवृत्ति कार्यक्रमको भिडियो बनाएको मन्त्री श्रेष्ठको आलोचना भएको हो । शिक्षामन्त्रीले विज्ञापन पढिराख्नुपर्छ र भन्दै प्रश्न गरेका एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘शिक्षामन्त्रीले विज्ञापन पढिरहनुपर्छ र भन्या ? त्यो पनि के के न ठुलै प्रगति गरे जसरी ? यतिन्जेल सुमना सुमना भन्दै चिच्याउने लन्ठूहरूले अब त केही बुझे कि बुझेनन् ?’

