वीरगंज - सशस्त्र प्रहरीले पर्साबाट ११ लाख बराबरको भन्सार छलीका सामग्री बरामद गरेको छ । वीरगंज महानगरपालिका वडा नम्बर १६ भन्सार गेटस्थित प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजको टोलीले भन्सार छलीका सामग्री बरामद गरेको हो ।
चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ६ लाख ८७ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नमबर १३ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिए । उनकाअनुसार किराना सामान, लत्ताकपडा, अटोपार्टस र सामान ओसारपसारमा प्रयोग गरिएको एक वटा मोटरसाइकल र एक वटा स्कुटर नियन्त्रणमा लिइएको हो ।
वीरगंज महानगरपालिका वडा नम्बर १६ भन्सार गेटबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकम पनि बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए । डिएसपी सिंहकाअनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको ना ४१ प ११५९ नम्बरको मोटरसाइकलमा सवार अन्दाजी ५० वर्षीय नेपाली नागरिकको साथबाट १ लाख ४९ हजार ८५० भारतीय रुपैयाँ र १६ हजार ७५५ नेपाली रुपैयाँ फेला परेको हो ।
बरामद रकमसहित १ लाख ५० हजार बराबरको मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।
