काठमाडौँ, ३० माघ : खानेपानीमन्त्री प्रदीप यादवले नेपाल बिद्युत प्राधिकरणले मन्त्रालय तथा मातहाका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको बताउनु भएको छ ।
आज दिउँसो बिद्युत प्राधिकरणले बिद्युतका तारहरु अण्डर ग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको सो क्षेत्रको अनुगमन तथा निरीक्षका लागि त्यहाँ पुग्नु भएका मन्त्री यादवले सो कुरा बताउनु भएको हो ।
सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्नु हुँदै मन्त्री यादवले भन्नुभयो, “विद्युत प्राधिकरणले सधै हामीसँग समन्वय गर्दै आएका थियो । आज समन्वय नगरेका कारण पाइप फुटेर क्षति हुन पुग्यो ।”
यसैगरी मन्त्री यादवले बिद्युतका तारहरु अण्डर ग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा कहाँ कहाँ खानेपानीका पाइपहरु छन सो विषयमा प्राधिरणले आफुहरुसँग सल्लाह अनि समन्वय गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिद्युत प्राधिरणले कहाँ कहाँ खानेपानीका पाइप बिच्छाइएको छ । त्यो विषयमा जानकारी लिन आवश्यक छ । हामीलाई सोधे हामी पाइप भएको क्षेत्र देखाउने छौँ ।”
मन्त्री यादवले पानी बन्द हुँनासाथ फुटेको पाइपलाईन तत्काल मर्मत गर्नका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुखलाई निर्देशन दिइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले करिब पानी बन्द हुँने अवस्थामा पुगेको छ । पानी पूर्ण रुपमा बन्द हुँनासाथ फुटेको पाइप मर्मत गरी पानी सूचारु गराउन मैले निर्देशन दिइसकेको छु । फुटेको पाइप चाडै मर्मत गरी पानी सूचारु गरिने छ ।”
काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख टिकाबहादुर चौधरीले पानी बन्द हुँनासाथ फुटेको पाइप मर्मत गरी सेवा सूचारु गरिने जानकारी दिनुभयो ।
पाइप फुटेर पानी पसेपछि बबरमहल स्थित विशेष अदालत लगायतका सरकारी भवनहरू जलमग्न बनेको छ । मन्त्री यादव, मन्त्रालयका सचिव ई प्रमिलादेबि शाक्य बज्राचार्य, केयूकेएलका सिइओ अशोककुमार पौडेल, पिआइडिका प्रमुख टिकाबहादुर चौधरी सहित मन्त्रालयको टोलि पानी निकास र रोकथामका लागि बबरमहल पुगेको थियो ।
ADVERTISEMENT
