नयाँ दिल्ली । भारतले लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त पारेको दाबी गरेको छ । भारतको रक्षा मन्त्रालयका अनुसार सेनाले बिहीबार बिहान पाकिस्तानका धेरै स्थानहरूमा रहेको वायु रक्षा राडार र प्रणालीहरूलाई निशाना बनाएको हो।विश्वसनीय जानकारी अनुसार’ लाहोरमा हवाई रक्षा प्रणाली नष्ट गरिएको मन्त्रालयले दाबी गरेको छ । भारतको रक्षा मन्त्रालयले बुधबार राति पाकिस्तानले ड्रोन र मिसाइल प्रयोग गरेर धेरै भारतीय सैन्य अड्डाहरूलाई निशाना बनाउने प्रयास गरेको पनि दाबी गरेको छ।
भारतको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘पाकिस्तानले ड्रोन प्रयोग गरेर अवन्तीपुरा, श्रीनगर, जम्मू, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, बठिंडा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुज लगायत उत्तरी र पश्चिमी भारतका धेरै सैन्य प्रतिष्ठानहरूमा आक्रमण गर्ने प्रयास गरेको छ।
भारतको रक्षा मन्त्रालयले पाकिस्तानका यी आक्रमणहरूलाई एकीकृत काउन्टर यूएएस ग्रिड र वायु रक्षा प्रणालीद्वारा निष्क्रिय पारिएको बताएको छ। ‘पाकिस्तानी ड्रोनका भग्नावशेषहरू अब धेरै स्थानहरूबाट बरामद भइरहेका छन् जसले आक्रमण पाकिस्तानले गरेको प्रमाणित गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।भारतले मे ७ मा 'अपरे;न सिन्दूर' बारे पत्रकार सम्मेलनमा पाकिस्तानी सैन्य ठेगानाहरूलाई लक्षित नगरिएको भनेको थियो । भारतीय सैन्य प्रतिष्ठानहरूमा हुने कुनै पनि आक्रमणको उचित जवाफ दिइने कुरा पनि दोहोर्याइएको थियो।