काठमाडौं १३ असार।गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिको आयोजनामा आगामी सेप्टेम्बर दोस्रो साता हुने चौथो विश्व स्वास्थ्य सम्मेलनमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।अस्ट्रेलियाको सिड्नी सहरमा आयोजना हुने सम्मेलनको तयारीका लागि आइतबार समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाको अध्यक्षतामा सम्पन्न बैठकले सुझाव सङ्कलन गरेको थियो । उनले स्वास्थ्य समितिको आयोजनामा हुने सम्मेलनमा भाग लिन विश्वभरका स्वास्थ्यकर्मी उत्साहित रहेको बताए । सापकोटाले सम्मेलनमा नेपालका स्वास्थ्य मन्त्रीलगायत अष्ट्रेलिया सरकारको तर्फबाट उच्च अधिकारीहरूले भाग लिने जानकारी दिए ।
नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. शिवप्रसाद श्रेष्ठले संघका सदस्यहरूलाई समेत सम्मेलनमा भाग लिन प्रोत्साहन गरिने जानकारी दिए । डा. सुहेल सापकोटाले हालसम्म ३१ जना चिकित्सकहरूले सम्मेलनमा भाग लिन आफ्नो नाम दर्ता गरेको जानकारी गराए । डा. पुष्पराज भट्टराईले अफ्रिका क्षेत्रमा रहेका नेपाली चिकित्सकहरू सम्मेलनमा भाग दिन उत्साहित रहेको बताए ।
ADVERTISEMENT