वीरगञ्ज । जनता समाजवादी पार्टी, नेपाल (जसपा) नेपालका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोक कुमार अग्रवाल (टेमानी) ले सोमबार वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौँ गाउँमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका छन् ।
घरदैलोका क्रममा उनले पर्सा–२ को समग्र विकास, रोजगारी सिर्जना, उद्योग स्थापना तथा पूर्वाधार विस्तारलाई आफ्नो प्रमुख प्राथमिकता रहेको बताए । छाता छापमा मतदान गरी आफू लगायत जसपा नेपालका उम्मेदवारहरूलाई विजयी बनाउन उनले मतदातासँग आग्रह गरे ।
अग्रवालले आफूलाई सफल उद्योगी, व्यवसायी तथा समाजसेवीका रूपमा प्रस्तुत गर्दै वीरगञ्ज उद्योग वाणिज्य सङ्घ तथा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेश लगायत विभिन्न सङ्घ–संस्थामा नेतृत्व सम्हालेको अनुभवले आफूमा सक्षम नेतृत्व क्षमता रहेको दाबी गरे ।
उनले वैदेशिक लगानी भित्र्याई वीरगञ्ज क्षेत्रमा ठूला उद्योग स्थापना गर्ने योजना रहेको उल्लेख गर्दै पर्साको प्रमुख समस्या बेरोजगारी अन्त्य गर्न दीर्घकालीन योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नीति निर्माण तहमा सक्रिय रूपमा काम गर्ने उनले बताए ।
अग्रवालले जसपा नेपालले मधेस र मधेसवासीका अधिकारका लागि निरन्तर सङ्घर्ष गर्दै आएको उल्लेख गर्दै उक्त अभियानलाई भविष्यमा पनि निरन्तरता दिने बताए । साथै अल्पसङ्ख्यक तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफूलाई विजयी बनाउन मतदातासँग आग्रह गरे ।
घरदैलो कार्यक्रमका क्रममा उनले पार्टीको घोषणापत्रका मुख्य विषयवस्तुहरूबारे जानकारी गराउँदै घोषणापत्रअनुसार काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

