काठमाडौँ — नेपाली कांग्रेसका नेता एवम् संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । ७८ वर्षीय बस्नेतले शुक्रबार बिहान ४ बजे काठमाडौंको सिफल हाइटस्थित निवासमा निधन भएको हो ।उनको पार्थिव शरीरलाई शुक्रबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बस्नेत नेपाली कांग्रेसको लामो इतिहासका जानकार मानिन्थे ।कांग्रेस सोलुखुम्बुका पूर्व जिल्ला सभापति बस्नेत कांग्रेसका पूर्वआमन्त्रित सदस्यसमेत हुन् । प्रजातान्त्रिक आन्दोलन, लेखन र साहित्यका अथक योद्धा उनी पछिल्लो समय बीपी कोइराला स्मृति ट्रष्टको कोषाध्यक्षका रुपमा कार्यरत थिए ।
बहुआयमिक छवि भएका बस्नेत राजनीतिसँगै साहित्यकार, सम्पादक र समाजसेवीका रुपमा समेत चिनिन्थे । उनी कांग्रेसबाटै संविधानसभा सदस्य समेत थिए । कांग्रेसको मुखपत्र नेपाल पुकार प्रकाशन गरेका बस्नेतले ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ भाग एक र दुई लेखेका छन् । उनी गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष समेत हुन् ।
उनले लामो समय कांग्रेसको प्रेस प्रमुख भएर समेत काम गरेका थिए । राजनीतिक जीवनका क्रममा ९ वर्ष जेल जीवन बिताएका बस्नेत शालिन, सादगी र सरल व्यक्तित्वका धनी थिए । ‘नेपालको राजनीतिक एवं सामाजिक रुपान्तरणको अभियानमा संलग्न रहँदै गर्दा अविवाहित रहेर सामेल हुनुभयो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक असल, अनुभवी, इतिहासका जानकार व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको छ,’ कांग्रेस मुख्यसचिव पौडेलले विज्ञप्तिमार्फत् भनेका छन् ।स्वर्गीय बस्नेतको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । सभापति देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा बस्नेतले महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनी कांग्रेसको इतिहासमा सदा स्मरणीय रहेको बताएका छन् ।
बस्नेतको निधनमा कांग्रेसले शोक मनाउने निणर्य गरेको छ । कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा वैशाख २९, ३० र ३१ गते गरी तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने, वैशाख ३१ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने; र स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने जनाएको छ ।