वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले आर्थिक अवस्था कमजोर भएका कसैको बालबालिकाले शिक्षाबाट बञ्चित गर्न नहुने बताएका छन् ।
वीरगञ्जको अनमोल पार्टी प्यालेसमा आयोजित नवदीप एकेडेमीको बार्षिकोत्सव कार्यक्रमको उदघाटन समारोहमा बोल्दै उपमेयर आलमले वीरगञ्जका निजीविद्यालयहरुले शिक्षामा गरेको योगदान सराहनीय रहेको बताए ।
उनले निजी विद्यालयहरुमा अध्ययन गर्ने सबै आर्थिक रुपमा सम्पन्न परिवारका नहुने र कोही आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई समस्या भएमा विद्यालयले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीेले कुनै कारणले पनि शिक्षाबाट बञ्चित हुनु नहुने बताउदै महानगरपालिकाको तर्फबाट पनि आवश्यक सहयोगहरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले शिक्षा सबैको नैसर्गिक अधिकार भएकोले कोही पनि कुनै कारणले शिक्षाबाट बञ्चित हुन नहुने बताउनुभयो । विद्यालयकी प्रधानाध्यापिका सुशीला साहको अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिकाकी पूर्व उपमेयर शान्ति कार्की, नारायणी एफ.एमका सम्पादक निरज पिठाकोटे मगर, पत्रकार महिला लक्ष्मी खरेल, पत्रकार जगत राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । बार्षिकोत्सवका अवसरमा विद्यालयका सबै शिक्षकहरुलाई सम्मान गरिनुका साथै उत्कृष्ट शिक्षक शिक्षिकाहरुलाई पुरस्कृत पनि गरिएको थियो ।
ADVERTISEMENT

