वीरगंज - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुले पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा घरदैलो कार्यक्रम सम्पन्न गर्दै स्थानीय जनता संग प्रत्यक्ष संवाद गरेका छन्। कार्यक्रम वीरगञ्ज महानगरपालिका–२८ बहीमा आयोजित गरिएको थियो।
कार्यक्रमका क्रममा कानुले स्थानीयवासीका समस्याहरू, आवश्यकताहरू र विकासप्रतिको चाहनाबारे जानकारी लिएका थिए। उनले जनताको आवाजलाई नीतिगत रूपमा सम्बोधन गर्ने र संसद्मा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाए।
स्थानीयहरूले सडक, खानेपानी, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा र सुशासन सम्बन्धी सुझाव र गुनासा राखेका थिए। कानुले निर्वाचित भएपछि यी समस्याहरूको समाधानका लागि निरन्तर पहल गर्ने र जनताको अपेक्षाअनुसार काम गर्ने आफ्नो सङ्कल्प दोहोर्याए।
उम्मेदवार कानुले स्वच्छ राजनीति, जबाफदेही नेतृत्व र पारदर्शी शासन प्रणालीमार्फत पर्साको समग्र विकास सम्भव हुने बताए। उनले भने, “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो बल हो। जनताको चाहनाअनुसार काम गर्ने प्रतिनिधि बन्ने मेरो लक्ष्य हो।”
घरदैलो कार्यक्रममा रास्वपाका स्थानीय नेता–कार्यकर्ता, समर्थक र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। आगामी निर्वाचनसम्म कानुले क्षेत्रका विभिन्न वडाहरूमा घरदैलो र जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन्।

