वीरगंज — पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका प्रतिनिधिसभा उम्मेदवार ओमप्रकाश सरार्फ ले नेपाली कांग्रेस, एमालेलगायत ठूला राजनीतिक दलहरूले योजनाबद्ध रूपमा वीरगंजलाई बर्बाद गरेको आरोप लगाउँदै त्यसविरुद्ध न्यायको लडाइँ लड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
वीरगंज महानगरपालिका वडा नम्बर–२० अन्तर्गत अपौनी र हारपतगन्ज मा आयोजित भेटघाट, संवाद, घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार सरार्फले मधेस आन्दोलन र जेन–जी आन्दोलनका क्रममा निर्दोष युवाहरूको ज्यान जाने घटनामा ठूला दलहरूको जिम्मेवारी रहेको आरोप लगाए।
उनले ठूला दलहरूले वर्षौंदेखि वीरगंज र पर्साको विकासप्रति बेइमानी गर्दै आएको दाबी गर्दै वीरगंजलाई केवल राजस्व संकलन गर्ने साधन का रूपमा मात्र प्रयोग गरिएको बताए। वीरगंजमाथि हुँदै आएको विभेदको अन्त्य गर्दै जनतालाई न्याय दिलाउन आफू संघर्षशील भएर चुनावी मैदानमा उत्रिएको सरार्फले स्पष्ट पारे।
देश र मधेसको दीर्घकालीन समाधानका लागि स्पष्ट र प्रभावकारी भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा. सीके राउतसँग मात्र रहेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा ‘हर्न’ चुनाव चिह्नमा मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरे।
कार्यक्रममा जनमत पार्टीका नेताहरू बिध्या गुप्ता, रम्भा मिश्रा, भुपेन्द्र साह, डा. मनोज कुमार, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, अन्जना गुप्ता, बबिता पुडासैनी, नरेश राम, सत्युग साह लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

