वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले दीर्घकालीन गुणस्तरीय सेवासहित व्यवस्थित कृषि क्षेत्रलाई आधुनिकीकरण परियोजनामार्फत अघि बढाउने उद्घोष गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार टेमानीले वीरगञ्ज महानगरपालिका वडा नम्बर–२८ बगाही टोलमा घरदैलो तथा पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिएका हुन्। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीय मतदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
घरदैलोका क्रममा उम्मेदवार टेमानीले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका समस्या, आवश्यकता र अपेक्षाहरू सुने। उनले शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिलगायतका विषयमा दीर्घकालीन तथा व्यवहारिक समाधान आवश्यक रहेको उल्लेख गरे।
टेमानीले शिक्षकहरूको पहुँच र समस्या समाधान, आधारभूत स्वास्थ्य संस्थाको सुदृढीकरण तथा युवाका लागि स्थायी र दिगो रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको बताए। “शिक्षा र स्वास्थ्य बलियो नभएसम्म समाज समृद्ध हुन सक्दैन। स्थानीय तहमा गुणस्तरीय सेवा सुनिश्चित गर्न नीतिगत र व्यवहारिक दुवै तहमा पहल गरिनेछ,” उनले भने।
उनले विकास, रोजगारी, शिक्षा र कृषिलाई मुख्य एजेन्डाका रूपमा अघि सार्दै कृषकहरूका लागि समयमै मल, सिँचाइ सुविधा र उत्पादनलाई बजारसम्म पुर्याउने व्यवस्थामा सुधार गरिने बताए। युवालाई स्वरोजगार र उद्यमशीलतामा जोड्ने योजनाहरू अघि बढाइने उनको भनाइ थियो।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले मुलुकमा जवाफदेही नेतृत्व र नयाँ राजनीतिक संस्कार आवश्यक रहेको उल्लेख गर्दै जसपाप्रति भरोसा बढ्दै गएको प्रतिक्रिया दिएका थिए।
उम्मेदवार टेमानीले समावेशी विकास, सुशासन र अवसर सिर्जनालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाउँदै पर्सा क्षेत्र नम्बर–२ बाट आफूलाई विजयी गराउन मतदाताहरूलाई अपिल गरेका छन्। उनले जनताका सुझावलाई चुनावी घोषणापत्र तथा भावी कार्ययोजनामा समेट्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
ADVERTISEMENT

