राजविराज — सप्तरीको राजविराजमा आयोजना गरिएको मधेश प्रदेशस्तरीय यू–१९ तथा सिनियर महिला छनोट टी–२० क्रिकेटको उपाधि सिरहाले उचालेको छ । पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको मैदानमा बिहीबार सम्पन्न फाइनलमा सिरहाले पर्सालाई ३ विकेटले हराउॅंदै उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको पर्साले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९३ रनको योगफल तयार गर्यो । पर्साका लागि सिवानी साहले सर्वाधिक २५ रनको योगदान दिइन् भने शाना परविनले १७ रन तथा आरुषी यादवले अविजित १२ रन जोडिन् ।बलिङतर्फ सिरहाकी स्वेता लामाले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट हात पारिन् भने सरस्वती चौधरीले १ विकेट लिइन् । ९४ रनको लक्ष्य पछ्याएको सिरहाले १५ ओभर ४ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
सिरहाको जितमा स्वेता लामाले अविजित २१ रनको महत्त्वपूर्ण इनिङ्स खेलिन् । अनुराधा चौधरीले १८, मीना महतोले १२ र अनु यादवले ११ रनको योगदान दिइन् ।बलिङतर्फ पर्साकी शाना परविनले ३ विकेट लिइन् भने सिन्धु यादवले २ र सोहना खातुनले १ विकेट हात पारिन् । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेकी स्वेता लामा ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी सिरहाकी सरस्वती चौधरी ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भइन् ।
प्रतियोगिता समापनपश्चात् आयोजक सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, उपाध्यक्ष निरज सिंह, सचिव चन्दनकुमार यादव तथा संघका सदस्य वीरेन्द्र यादवलगायतले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई सिल्ड, कप, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।

