नयाँ दिल्ली । बलिउड सुपरस्टार सलमान खानको मुम्बईस्थित घरबाहिर गोली चलेको छ । आइतबार बिहान करिब ५ बजे तिर मोटरसाइकलमा आएका दुईजना आक्रमणकारीले अभिनेताको बान्द्रास्थित घर बाहिर हावामा केही राउण्ड गोली हानेर भागेका थिए । मुम्बई प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । ग्याङ्स्टर लरेन्स बिश्नोईबाट ज्यान मार्ने धम्की आएपछि सलमानको सुरक्षा व्यवस्था यसअघि नै बढाइएको थियो ।
गोली प्रहारको घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिएका छन् । प्रहरीले सलमानको सुरक्षा कसिलो पारेको छ । बलिउडमा यस्तो घटना भएको यो पहिलो पटक होइन । सलमानअघि पनि कयौँ सेलिब्रेटीहरूले आक्रमणको धम्की पाइसकेका छन् । यस्ता कलाकारहरूलाई राज्यले सुरक्षा पनि दिइरहेको छ । तीमध्ये केही यस प्रकार छन्:
शाहरुख खानगत वर्ष शाहरुख खानको जवान र पठान दुवै फिल्म हिट भयो । फिल्म हिट भएपछि उनीमाथि हमला हुने आशंकालाई ध्यानमा राखेर खानलाई उपलब्ध गराउँदै आइएको सुरक्षा कसिलो पारिएको थियो । गत वर्ष शाहरुखलाई वाई प्लस सुरक्षा दिइएको थियो । यो व्यवस्थामा अभिनेताको साथमा ६ जना प्रहरी कमाण्डो सधैँ अंगरक्षकको रूपमा रहनेछन् । सो अघि भने उनको सुरक्षाका लागि २ प्रहरी हवल्दार खटाइएको थियो ।

