काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थीहरूलाई गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले सम्झौता गरेको छ । विद्यार्थीहरूलाई गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले स्ववियुले त्रिवि मनोविज्ञान केन्द्रीय विभागसँग शुक्रबार सम्झौता गरेको हो ।विद्यार्थीहरूमा बढ्दो मानसिक तनाव, चिन्ता, अवसाद तथा अन्य मनोसामाजिक समस्याहरूलाई मध्यनजर गर्दै मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले दुई पक्षबीच समझदारी भएको स्ववियु सभापति दिपकराज जोशीले जानकारी दिए ।
सम्झौताअनुसार स्ववियुको कार्यालय परिसरमा विद्यार्थीहरुलाई परामर्श दिने कार्यक्रम सञ्चालनका लागि मनोपरामर्श इकाइ स्थापना गरिने सभापति जोशीले बताए ।सम्झौता पत्रमा विद्यार्थीहरूले आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारिक प्रयोग गर्न परामर्श कार्यक्रम सञ्चालनका लागि स्ववियु कार्यालय परिसरमा रहेको एउटा कोठा प्रयोग गरिने उल्लेख छ ।सम्झौअनसार स्ववियुले सम्पूर्ण विभागहरूमा परामर्श कार्यक्रम सञ्चालन प्रारम्भ भएको जानकारी गराउन समन्वयकारी भूमिका निर्वाह गर्ने, सेवामार्फत विद्यार्थीहरुको मानसिक स्वास्थ्य प्रवर्धन, समस्या पहिचान, समयमै परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएर उनीहरूको शैक्षिक, व्यक्तिगत र सामाजिक विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
स्ववियुको कार्यालय रहने गरी निर्माण भएको विद्यार्थीमैत्री भवनमा स्ववियु स्थानान्तरण भएपछि नयाँ भवनमा समेत परामर्श कार्यक्रमलाई निरन्तरता दिन स्ववियुले विभागलाई कोठाहरू उपलब्ध गराएर सहकार्य जारी राख्ने पनि सहमति पत्रमा उल्लेख छ ।कोठा प्रयोगको क्रममा फोहोर भएमा कार्यक्रमपश्चात कोठाको सरसफाइ गर्ने र कोठाभित्र रहेका भौतिक सम्पत्तिको संरक्षण प्रयोगकर्ताले गर्ने,’ सम्झौता पत्रमा लेखिएको छ, ‘कोठा प्रयोगका सम्बन्धमा कुनै समस्या वा विवाद आएमा दुवै पक्ष बसी छलफल र सम्वादवाट समस्या समाधान गर्ने ।सम्झौता पत्रमा स्ववियुका तर्फबाट सभापति जोशी र मनोविज्ञान केन्द्रीय विभागका तर्फबाट विभागीय प्रमुख उपप्राध्यापक सन्जेश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
ADVERTISEMENT

