काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संविधान निर्माण भइसकेपछि आवश्यक कानुन निर्माणमा सङ्घीय सांसदहरु गम्भीर हुनुपर्ने बताएका छन् । संसदीय अभ्यास, प्रक्रियाको जानकारी एवं प्रभावकारी भूमिकाको लागि आज यहाँ आयोजित राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुसँगको अन्तरक्रियामा उनले समयमै कानुन निर्माण नगर्दा अन्योल र निराशाको अवस्था आउन दिन नहुने बताए ।
नवनिर्वाचित राष्ट्रियसभा सदस्यलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रमले संसदीय अभ्यास र प्रक्रिया बुझ्न महत्वपूर्ण हुने भन्दै उनले सिक्ने काम कहिल्यै नसकिने भएकाले यस्ता कार्यक्रम सबैका लागि नियमित सञ्चालन गर्न आवश्यक रहेको बताए ।कानुन निर्माणका विभिन्न चरणबारे सिक्न, विधेयकमा छलफल, संशोधन र कानुनी कार्यमा पोख्त हुन बेला बेलामा यस्ता अन्तरक्रिया, गोष्ठी र छलफल हुनु जरुरी रहेको अध्यक्ष दाहालको भनाइ थियो ।

