काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि संक्रामक रोग फैलन नदिन सतर्कताका उपाय अपनाउन तीनवटै तहका सरकार, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध अधिकारीहरुसँग आग्रह गरेका छन् । मन्त्रालयमा विशेष बैठक डाक्दै उनले बाढी पहिरो पछि पानीका श्रोत प्रदुषित भएको र यसकै कारण झाडापखाला, हैजा तथा डेंगुलगायतका संक्रामक रोग लाग्न नदिन आ आफ्नो तर्फबाट तयारी बढाउन र आवश्यक परेका सहयोगबारे जानकारी गराउन आग्रह गरे ।
विपद्का समयमा स्वास्थ्यकर्मीहरुले पुर्याएको योगदानको प्रशंसा गर्दै मन्त्री पौडेलले भने, 'स्वास्थ्यकर्मीहरुले विपद्का समयमा बिरामीको उपचारका लागि पुर्याएको योगदान सराहनीय छ, अब यसपछि फैलन सक्ने रोगबाट नागरिकलाई जोगाउन लाग्नुहोला । आवश्यक केही परे भन्नुस्, हामी सघाउन तयार छौं ।'
उनले खानेपानीको शुद्धता बढाउन र कुनै पनि संक्रामक रोग फैलन नदिन स्थानीय तहसम्मै खानेपानी मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए । यसका लागि मातहतका सबै निकायलाई परेको अप्ठेरो फुकाउन मन्त्रालय लाग्ने उनले बताए ।बैठकमा बोल्दै खानेपानी मन्त्री प्रदीप यादवले सहकार्यको प्रस्तावका लागि मन्त्री पौडेललाई धन्यवाद दिँदै पानीको शुद्धता बढाएर नागरिकलाई शुद्ध पानी दिनका लागि शुद्धीकरण सामग्री वितरण तथा सचेतनाका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्ने घोषणा गरे ।

