बाकु । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्सजस्ता देश परेकाले यस विषयमा द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्ताहरूमा सहकार्य गर्नुपर्ने बताएका छन् । अजरबैजानको बाकु सहरमा सोमबारबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आएका राष्ट्रपति पौडेल र गणतन्त्र माल्दिभ्सका उहाँका समकक्षी डाक्टर मोहम्मद मुइजुसँग बाकुमा मङ्गलबार भएको भेटवार्तामा उनले सो आग्रह गरेका हुन् ।
जलवायु परिवर्तनको मारमा हामी दुवै राष्ट्र परेका छौँ, तसर्थ यस विषयमा हामीले द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्तामा सहकार्य गर्ने र हाम्राजस्ता देशका लागि वित्तीय तथा प्राविधिक सहयोगका लागि संयुक्त प्रयास गर्नुपर्छ भन्ने मलाई लाग्छ”, भेटवार्तामा राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

