काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन् । आज ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर प्रधानमन्त्री ओलीले ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुंगाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको बताए । 'नेपालको संसदीय अभ्यासमा बेग्लै प्रभाव छाड्न सफल भएकाले उहाँले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने आवश्यकता छ,' उनले भने ।
बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । उनीप्रति श्रद्धाञ्जली व्यक्ति गर्न उपप्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अन्य सदस्य पनि गौचरन पुगेका छन् ।कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।ढुंगानाको पार्थिव शरीर अन्तिम संस्कारका लागि दिउँसो ३ बजेपछि पशुपति लगिने परिवारका सदस्यले जनाएका छन् ।

