काठमाडौँ । जनता समाजवादी पार्टी जसपाले पार्टीको नीति तथा कार्यक्रम सम्बन्धी नयाँ राजनीतिक प्रस्ताव सार्वजनिक गरेको छ । प्रस्तावमा ‘समाजवादको नेपाली बाटो’ लाई प्राथमिकता दिइएको छ । जसपा सङ्घीय परिषद्को बैठकमा परिषद्का अध्यक्ष राजेन्द्र श्रेष्ठले अवधारणा प्रस्तुत गर्दै सङ्घीय समाजवादलाई नेपाली क्रान्तिको मौलिक मार्गदर्शक सिद्धान्तको रूपमा औपचारिक घोषणा गरेका हुन् ।सामान्य सुझावसहित पारित उक्त अवधारणमा अध्यक्ष श्रेष्ठले नेपालको पछिल्ला १७ वर्षको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक अभ्यासका उपलब्धिहरूलाई सूक्ष्म विश्लेषण गर्दै हालको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाबारे पनि विस्तृत विवेचना गरेका छन् ।
श्रेष्ठले सङ्घीय समाजवाद नेपाली क्रान्तिको व्यवहारमा विकसित मौलिक सिद्धान्त भएको भन्दै कुनै पनि सिद्धान्त आजसम्म सिद्ध भएका कुराहरूको आधारमा नै विकास हुने बताएका छन् । यसले समग्रमा मार्गदर्शन गरेको हुन्छ । सङ्घवाद र समाजवाद यसका दुई मुख्य सैद्धान्तिक आधारहरू हुन्, जुन विश्वका धेरै देशहरूमा त्यहाँका आआफ्नै विशिष्ट स्थितिअनुरूप प्रयोग गरी सिद्ध भएका छन्’, अवधारणामा भनिएको छ, ‘नेपाल जस्तो बहुजातीय र बहुभाषिक मुलुकमा यी दुईको संयोजनको ऐतिहासिक महत्त्व रहेको छ ।
अवधारणामा नेपालको वस्तुगत परिस्थितिअनुरूप सङ्घवाद र समाजवादलाई समेटेर नेपाली क्रान्तिको सिद्धान्तका रूपमा सङ्घीय समाजवादका प्रस्तुत गरिएको छ । सङ्घीय समाजवाद सङ्घीय शासन प्रणालीसहितको समाजवाद हो । यसले नेपाली क्रान्तिमा जातीय मुक्ति र वर्गीय मुक्तिको संयोजन गरेको छ । त्यसैले यो श्रमजीवी वर्ग तथा उत्पीडित समुदायको मुक्तिको सिद्धान्त हो’, अवधारणामा भनिएको छ ‘यसले नेपाली क्रान्तिको व्यवहारमा बहुराष्ट्रियतासहितको समाजवादको प्रयोगलाई सिद्धान्तकृत गरेको छ । नेपाली समाजको सङ्घीयकरण, उत्पादनका साधनहरूको सामाजिकीकरण यसको लक्ष्य हो ।’ जुन अवधारणा परम्परागत लोकतन्त्र जस्तो राजनीतिक लोकतन्त्र मात्र नभई आर्थिक, सामाजिक तथा सांस्कृतिक लोकतन्त्र भएको बताइएको छ ।

