
श्रेष्ठले सङ्घीय समाजवाद नेपाली क्रान्तिको व्यवहारमा विकसित मौलिक सिद्धान्त भएको भन्दै कुनै पनि सिद्धान्त आजसम्म सिद्ध भएका कुराहरूको आधारमा नै विकास हुने बताएका छन् । यसले समग्रमा मार्गदर्शन गरेको हुन्छ । सङ्घवाद र समाजवाद यसका दुई मुख्य सैद्धान्तिक आधारहरू हुन्, जुन विश्वका धेरै देशहरूमा त्यहाँका आआफ्नै विशिष्ट स्थितिअनुरूप प्रयोग गरी सिद्ध भएका छन्’, अवधारणामा भनिएको छ, ‘नेपाल जस्तो बहुजातीय र बहुभाषिक मुलुकमा यी दुईको संयोजनको ऐतिहासिक महत्त्व रहेको छ ।
अवधारणामा नेपालको वस्तुगत परिस्थितिअनुरूप सङ्घवाद र समाजवादलाई समेटेर नेपाली क्रान्तिको सिद्धान्तका रूपमा सङ्घीय समाजवादका प्रस्तुत गरिएको छ । सङ्घीय समाजवाद सङ्घीय शासन प्रणालीसहितको समाजवाद हो । यसले नेपाली क्रान्तिमा जातीय मुक्ति र वर्गीय मुक्तिको संयोजन गरेको छ । त्यसैले यो श्रमजीवी वर्ग तथा उत्पीडित समुदायको मुक्तिको सिद्धान्त हो’, अवधारणामा भनिएको छ ‘यसले नेपाली क्रान्तिको व्यवहारमा बहुराष्ट्रियतासहितको समाजवादको प्रयोगलाई सिद्धान्तकृत गरेको छ । नेपाली समाजको सङ्घीयकरण, उत्पादनका साधनहरूको सामाजिकीकरण यसको लक्ष्य हो ।’ जुन अवधारणा परम्परागत लोकतन्त्र जस्तो राजनीतिक लोकतन्त्र मात्र नभई आर्थिक, सामाजिक तथा सांस्कृतिक लोकतन्त्र भएको बताइएको छ ।