काठमाडौँ — उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमन सिंहले समाजलाई अगाडि बढाउनमा महिलाहरुको विशेष भूमिका रहेको बताएका छन् नेपाल महिला संघ काठमाडौं क्षेत्र नं १ ले बुधबार नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले अहिले प्राप्त परिवर्तनमा महिलाहरुको भूमिका विशिष्ट रहेको भन्दै तीजको शुभकामना व्यक्त गरे ।
‘अहिले यातायातको सुविधा बढेकाले आवतजावत गर्न सहज छ । पहिला बाटोघाटो नहुँदा विवाहपछि माइत जान पनि विशेष पर्व आउनुपर्ने । विशेषगरी तीजमा माइत गएर आफन्तसँग बसेर गीत र नृत्यमार्फत आफ्नो सुख दुख व्यक्त गर्ने परम्परा हो,’
उनले भने,‘विशेषगरी दिदीबहिनीहरुले यो पर्व मनाउँदा तीजको मान्यतालाई तलमाथि नपर्ने गरी, मौलिकता नबिर्सिकन तीज मनाउँदा राम्रो हुन्छ भन्ने मलाई लागेको छ ।उनले काठमाडौं क्षेत्र नं १ मा संघ, प्रदेश र स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवारलाई निर्वाचित गराउन यो क्षेत्रका महिलाहरुको भूमिका महत्त्वपूर्ण रहेको भन्दै आभार पनि व्यक्त गरेका थिए । कार्यक्रममा कांग्रेस नेतृ कल्याणी रिजाल, मंगलादेवी सिंह फाउन्डेसनकी अधयक्ष सिर्जना सिंह, प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ, शान्ता ढकाललगायतले तीजको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

