काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीलाई लक्षित गरेर दिएको अभिव्यक्तिप्रति चित्त दुखाएकी छन् ।पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता मनिष झासँग मंगलबार बिहान भेट्दा मदन भण्डारीमाथि प्रधानमन्त्री ओलीले आक्षेप लगाएको बताएकी हुन् । रास्वपा प्रवक्ता झाले भने,‘मदन भण्डारीका चार श्रीमती र सहकारी ठगी गरेको विषयलाई प्रधानमन्त्रीले उठाएकोप्रति पूर्वराष्ट्रपति भण्डारी अचम्मित देखिनुभयो ।’
आफू र छोरीहरू सहभागी सभामा अहिलेसम्म कतै नउठेको विषय प्रधानमन्त्रीले उठाएको भन्दै भण्डारीले चित्त दुखाएको झाले जानकारी गराए । त्यसबेला सहकारी सञ्चालन नभएको तथ्य सुनाउँदै भण्डारीले प्रधानमन्त्रीको बोलीप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन् ।रास्वपा सभापति रवि लामिछाने सहकारीको रकम अपचलनको मुद्दा कारणले कारागारमा रहेको विषयमा संवाद हुँदा प्रधानमन्त्री ओलीले मदन भण्डारीप्रति व्यक्त गरेको अभिव्यक्तिमा समेत कुराकानी भएको थियो ।पूर्वराष्ट्रपति भण्डारीले सहकारीमा समस्या रहेको र रविप्रति गरिएको व्यवहार चित्त नबुझ्ने खालको रहेको बताएकी थिइन् ।
झाले भने, ‘सहकारीको विषयमा समाधान गर्नुको साटो यसलाई अनावश्यक राजनीतिक मुद्दा बनाएको प्रति उहाँले सरोकार राख्नुभयो र रवि प्रति सद्भाव छ भन्नुभयो ।’भण्डारीलाई भेट्न झा उनको निवास बूढानीकलण्ठस्थित भंगाल पुगेका थिए । एक घण्टा संवाद भएको झाले जानकारी गराए । नयाँ पुस्ता राजनीतिमा आउनुप्रति भण्डारीले खुसी व्यक्त गरेकी थिइन् । नयाँ पुस्ताबाट राजनीतिमा आउनेहरूका लागि सघाउन तयार रहेको भेटघाटमा भण्डारीले बताएको झाले जानकारी गराए ।
ADVERTISEMENT

