काठमाडौँ — गृहमन्त्री रमेश लेखकले गुणस्तरीय काम नहुनु र समयमै काम नसकिने निर्माण क्षेत्रको प्रमुख समस्या रहेको बताएका छन् । यसका लागि निर्माण व्यवसायी र सरकारी निकाय दुवैले क्षमता अभिवृद्धि गर्नुपर्ने उनले बताए ।क्वालिटी वर्क, टाइमली वर्क विगतदेखि भन्दै आएको छु, अहिले पनि त्यही भनिरहेको छु,’ निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औं अधिवेशनको उद्घाटन समारोहमा शुक्रबार महेन्द्रनगरमा बोल्दै मन्त्री लेखकले भने, ‘राष्ट्र विकासका लागि भौतिक पूर्वाधारको काम गुणस्तरीय र समयमै सकिने हुनुपर्छ ।
उनले समयमै काम गर्न नसक्नु राज्यको रकमको अपव्यय हुने बताए । उनले एक दशकअघि आफू भौतिक पूर्वाधारमन्त्री हुँदाको समस्या अहिले पनि जस्ताको त्यस्तै रहेको बताए ।समयमै निर्माण कार्य नसकिँदा कतिपय योजनाहरुका लागत निकै बढेको मन्त्री लेखकले बताए । उनका अनुसार कतिपय योजनाको लागत मूल्य दुई/तीन सय प्रतिशतसम्म वृद्धि भएको छ ।
मन्त्री लेखकले पूर्वाधार निर्माणको सुधारका लागि राष्ट्रिय निर्माण क्षमताको अभिवृद्धि गर्नुपर्ने बताए । विकास निर्माण क्षेत्रमा संलग्न हुने सबै सरकारी निकाय र गैरसरकारी क्षेत्रमा काम गर्ने व्यवसायीहरु सबैको क्षमता अभिवृद्धि गर्नुपर्ने बताए ।कांग्रेस र एमाले गठबन्धनको वर्तमान सरकारको गठन कानुनी र नीतिगत सुधारका लागि भएकाले निर्माण क्षत्रेमा देखिएका कानुनी समस्या समाधानका लागि पनि सरकार तयार रहेको उनले बताए ।
उनले खरिद ऐन संशोधनका लागि पनि सरकार छलफलमा रहेको जानकारी दिए ।निर्माण व्यवसायीहरुको समयमै भुक्तानी गर्नका लागि पनि सरकार तयार रहेको मन्त्री लेखकले बताए । ‘गत आर्थिक वर्षमा मात्रै हामीले वर्षौँदेखि रोकिएको ३५ अर्ब भुक्तानी गरेका छौं,’ उनले भने, ‘बाँकी रकम यो वर्ष भुक्तानी हुनेछ ।’ उनले व्यवसायीलाई निर्धक्क भएर काम गर्ने वातावरण तयार गर्नु पनि सरकारको प्रमुख दायित्व भएको बताए ।

