काठमाडौं १६ असार। नेपालमा क्रियाशील विभिन्न संघ संस्थाहरुले महिलाहरुलाई गर्भपतन गर्न रोक लगाउने अमेरिकी सर्वोच्च अदालतको फैसलाको विरोध गरेका छन् । प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कार्य समूह (आरएचआरडब्ल्युजी), महिला कानुन र विकास मञ्च, सुनौलो परिवार नेपाल, सञ्चारिका समूह, साथी लगायतका विभिन्न संस्थाले एक विज्ञप्ति मार्फत अमेरिकी सर्वोच्च अदालतले महिलाहरुलाई गर्भपतनको अधिकार प्रत्याभूति गर्ने ‘रो विरुद्ध वेड’ को मुद्धामा स्थापित गरेको नजिरलाई उल्ट्याउने गरी गरेको फैसलाको भत्सर्ना गरेका छन् ।
बिहिबार काठमाडौंमा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी कार्य समूह, महिला कानुन र विकास मञ्च लगायतका संस्थाले गरेको पत्रकार सम्मेलनमा अमेरिकी अदालतले गरेको सो फैसलाको असर विश्वभर पर्ने र जसबाट महिलाले गर्भपतन गर्न पाउने अधिकारको हनन हुने भन्दै चिन्ता ब्यक्त गरिएको छ ।

