
गृहमन्त्री लेखकले एकद्वार नीति बनाउनुपर्ने र संघबाट सोझै लाभग्राही कहाँ राहत वा स्थायी भवन निर्माणको रकम उपलब्ध हुने व्यवस्था बनाउनुपर्ने सुझाव आएको बताए । सबै तहका सरकारले आफ्नो ठाउँमा काम गर्ने स्थितिको निर्माण गर्दै सबैले समन्वयात्मक रुपमा काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, ‘प्रतिवेदनमा १५ वटा बुँदामा सुझाव दिइएको छ । जुन ग्रहणयोग्य छन् । कार्यविधिमा समस्या छ । जटिलताहरू छन् । जटिल प्रावधानहरू राखिएको हुनाले सेवाग्राहीहरूले ठिक समयमा सेवा प्राप्त गर्न सकेका छैनन् । पीडितहरु गोलचक्करमा घुमिरहेको अवस्था छ । एकद्वार नीति बनाउनु पर्छ । यसमा संघबाट सोझै लाभग्राही कहाँ राहत वा स्थायी भवन निर्माण गर्नुपर्छ ।’गृहमन्त्री लेखकले भूकम्पपीडितहरुको चुस्त, दुरुस्त विवरण संकलन गरी सोको आधारमा राहत एवं अस्थायी आवास निर्माणका लागि रकम उपलब्ध गराइएको बताए । उनले भूकम्पबाट रुकुम पश्चिममा क्षति भई पहिलो किस्ता प्राप्त गर्ने लाभग्राही परिवारको ३२ हजार ९ सय ९६ रहेको बताए ।