नेपालगञ्जमा शान्ति सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता ः निरीक्षक खड्का
zeenepal
२०८२ कार्तिक १८,
45
Shares
नेपालगन्ज, कात्तिक । वडा प्रहरी कार्यालय नेपालगञ्जको जिम्मेवारी सम्हाल्न आएका प्रहरी निरीक्षक शेखर खड्काले स्थानीय पत्रकारहरूसँगको भेटघाटमा यहाँको शान्ति सुरक्षामा कुनै प्रकारको कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ । नवआगन्तुक निरीक्षक खड्काले आफ्नो कार्यकालमा अपराध नियन्त्रण, मादक पदार्थ नियन्त्रण, सवारी व्यवस्था सुधार तथा समुदाय–प्रहरी साझेदारीलाई सुदृढ गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँका अनुसार प्रहरीको प्रमुख दायित्व नागरिकको सुरक्षासँग प्रत्यक्ष सम्बन्धित भएकाले हरेक गतिविधि पारदर्शी र जनमुखी बनाइने छ । नेपालगञ्ज बहुजातीय, बहुसांस्कृतिक र सीमावर्ती सहर भएकाले यहाँको सुरक्षा संवेदनशील विषय हो।
समुदायको सहयोग र विश्वासका आधारमा हामी शान्ति सुरक्षालाई सुदृढ बनाउनेछौं, निरीक्षक खड्काले भन्नुभयो । उहाँले सामाजिक अपराध र आपराधिक गतिविधि नियन्त्रणमा शून्य सहनशीलता नीति अपनाइने उल्लेख गर्दै सर्वसाधारणलाई प्रहरीसँग खुला रूपमा सहयोग गर्न पनि आग्रह गर्नुभयो । भर्खरै सरुवा भएर आएका खड्काले मंगलवार आफ्नै कार्यालयमा पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम गरेका थिए । त्यसक्रममा उनले रियाक्टिभ’ ढंगले काम गर्ने परिपाटी बदलेर प्रो–एक्टिभ’ भएर काम गर्ने बताए ।
उनले संचारमैत्री भएर काम गर्ने प्रतिबद्धता जनाउँदै शान्ति सुव्यवस्था कायम गर्न तथा अपराध नियन्त्रणका लागि पत्रकारहरुबाट पनि आवश्यक सूचनाको अपेक्षा राखेको बताए । प्रहरी निरीक्षक खड्काले सीमा अपराध नियन्त्रण, लागूऔषध रोकथाम लगायतका विषय प्राथमिकतामा राख्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखा अध्यक्ष नवीन गिरी लगायतले पत्रकारहरुलाई सहज सूचना प्रवाह, समन्वय, सहकार्य तथा मिडियामैत्री भएर कार्य सम्पादन गर्न सुझाव दिएका थिए ।