काठमाडौं । ठमेल पुरानो काठमाडौंको अनुहार भन्दा धेरै फरक देखिन्छ– बाहिरबाट हेर्दा आधुनिकता, व्यस्तता र रंगीन पर्यटन संस्कृतिको मिश्रण । तर यही आधुनिकताको बीचमा सर्लाहीकी मनिसा शाह यादवले मैथिल संस्कृति र परम्परामा आधुनिकताको रंग घोलेर क्यानभासमा उतारेकी छन् ।काठमाडौं गेष्ट हाउसको आर्ट ग्यालरीमा मनिसाका मैथिल चित्र प्रदर्शनीमा राखिएको छ । मनिसाले आफ्नो पहिलो एकल प्रदर्शनीलाई ‘मोर्डन एकोज अफ मिथिला ट्रेडिसन’ नाम दिएकी छन् ।शनिबार बिहानबाट खुला गरिएको ग्यालरीभित्र मैथिल परम्परामा नारीको मौन अनुभूति र आधुनिकताको समिश्रणयुक्त ३१ चित्र प्रदर्शनीमा राखिएको छ । सर्लाहीकी मनिसाको नाम केही वर्षयता समकालीन मिथिला चित्रकलाको प्रसंग चल्दा अनिवार्य रूपमा उठ्छ । यही सफल कलात्मक यात्राका कारण उनी अनलाइनखबरको २०८२ सालको ४० वर्ष मुनिका ४० युवाहरूको सूचीमा परेकी थिइन् ।
उनलाई अभिभावकहरू विज्ञान विषय पढाउन चाहन्थे । उनले जनकपुरमा प्लस टु साइन्स पनि पढिन् । तर हरेक खाली कापीको छेउमा उम्रिने रेखाहरूले उनलाई अन्तत: रंगतिरै ताने । यही घुम्तीले उनलाई ललितकला क्याम्पस पुर्यायो जहाँ उनले मिथिलाको परम्परागत पहिरनलाई आधुनिक कलाको दृष्टि दिएर हेर्न सिकिन् । प्रदर्शनी हेर्न आएका लोक सेवा आयोगका पूर्वसदस्य ब्रह्मदेव रायले भने, ‘मिथिला कला त धेरै देखेँ, तर मनिसाको रंग संयोजन र विषय–चयन नयाँ छ । परम्पराको सम्मान छ र पुनर्व्याख्या पनि छ ।’उनले यस्ता धेरै समीक्षाहरू सुनेकी छिन् र आफ्नो कामको अर्थ दर्शकले आफैं पत्ता लगाउन दिन चाहन्छिन् । तर आफ्नो कलालाई परिभाषित गर्न खोज्दै मनिसा भन्छिन्, ‘मिथिला कला केवल सजावट होइन । यो घर–परिवार, आस्थाको भाषा र सम्बन्धको अभिव्यक्ति हो । त्यसलाई आजको समाजसँग जोडेर भन्न खोजेकी हुँ ।उनको जीवनमा एक दिन यस्तो पनि आयो जब आफ्नै कलाकृति नेपाल सरकारले जारी गर्ने ई–पासपोर्टमा समावेश भएको भयो । त्यो क्षणको जीवनको टर्निङ प्वाइन्ट थियो । ‘मैले बनाएको चित्र त्यहाँसम्म पुग्ला भन्ने सोचेकी थिइनँ,’ उनी सम्झिन्छिन्, ‘कलाकारका लागि त्यो केवल उपलब्धि होइन, एक किसिमको राष्ट्रिय मान्यता पनि हो ।’
क्यानभास मात्रै होइन, काठमाडौंका भित्तामा पनि फैलिएको छ मनिसाको कला यात्रा । काठमाडौंदेखि जनकपुरसम्म उनले विभिन्न सार्वजनिक संरचनामा भित्तेचित्र बनाइसकेकी छन् । काठमाडौंका सडक किनारका भित्तादेखि विशेषगरी सैनिक मुख्यालय भद्रकाली, विश्व बैंक मातहतको आईएफसी लगायतका कार्यालयका भित्ता पनि मनिसाकै कुचिबाट रंगीएका छन् केही कामले त उनको आर्थिक स्थिरता पनि बनायो । कला हेर्ने समाजले कहिलेकाहिँ कलाकारलाई बिस्तारै हेर्छ, तर मनिसाका चित्रहरूले आफ्नै बाटो पकडेका छन् मनिसाका चित्र हेर्न काठमाडौं गेष्ट हाउसको आर्ट ग्यालरीमा आएका मुस्ताङ निवासी आर्टिस्ट छिरिङ फोन्जो भन्छन्, ‘धेरै समयपछि काठमाडौं गेष्ट हाउसको आर्ट ग्यालरीमा यति मौलिक र पहिचान बोकेको प्रदर्शनी देख्न पाइयो ।आफ्नो कलाको प्रशंसाबाट उत्साहित मनिसा भन्छिन्, ‘मेरो ब्रस अझै चलिरहनेछ र मिथिलाले आफ्नो नयाँ रूप पनि मेरै क्यानभासहरूमार्फत पाउनेछ ।’प्रदर्शनी दैनिक बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म लागि खुला छ ।

