काठमाडौं । न्यूरोडस्थित लक्की ज्वेलर्सले तस्करीको ३३१ किलो सुन किनेको प्रमाण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फेला पारेको छ ।सुन तस्करी अनुसन्धानका क्रममा सीआईबीले काठमाडौं महानरपालिका–२२ न्यूरोड क्षेत्रमा रहेको भारतीय नागरिक सिद्धनाथ अशोक गायकवाडको सुन रिफाइनरी कोठाबाट केही कागजात बरामद गरेको थियो ।जहाँ लक्की ज्वेलर्सको नामको बिल प्याडसमेत भेटिएको थियो ।
उक्त बिल प्याडअनुसार २९ पुस २०७९ मा १२१.५५ किलो, ११ असोज २०७९ मा १७७.४१९ किलो, १२ असोज २०७९ मा १८.३६० किलो र ६ पुस २०७९ मा १३.७२ किलो गरी ३३१.०४९ किलो तस्करीको सुन लक्की ज्वलेर्सले किनेको देखिएको सीआईबीका एक अधिकारीले जानकारी दिए ।सिद्धनाथको रिफाइनरी हाउसबाट उक्त कागजात बरामद भएदेखि लक्कीका मेनेजर ३८ वर्षका मुकुन्दकुमार ठाकुर फरार छन् ।
सीआईबीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दामा लक्कीका मेनेजर मुकुन्दलाई पनि प्रतिवादी बनाइएको छ ।सन तस्करीमा लक्की ज्वेलर्स पनि संलग्न भएको कागजात भेटिएपछि ‘सीआईबी मिलाइदिन्छु’ लक्की ज्वेलर्सबाट १० लाख रुपैयाँ लिएको आरोपमा प्रहरीले सरोज गुप्ता नाम गरेकी एक महिलालाई बयानमा बोलाएको थियो । उनीसँगको बयानपछि सीआईबीले तारेखमा छाडेको छ ।
यसअघि मोबाइल वालेट कम्पनीहरुले समेत मुद्दा मिलाइदिन पूर्वडीएसपी केपी शर्मा भन्ने कृष्णप्रसाद शर्मा र झविन्द्र खत्रीले ८ लाख ५० हजार लिएको पाएपछि सीआईबीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध आपराधिक विश्वास गरी ठगी गरेको कसुरमा अनुसन्धान भइरहेको छ ।
ADVERTISEMENT