काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाराको सिमरामा जारी तनावको स्थितिलाई हिंसात्मक हुन नदिन उच्च संयमता अपनाउन सबै पक्षलाई आग्रह गरेका छन् लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक भएपनि त्यसलाई हिंसा वा उत्तेजनामा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति नहुने प्रचण्डको भनाइ छ ।राजनीतिक तथा वाक स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेतालाई निर्वाध हिँडडुल गर्ने, सभा–सम्मेलन गर्ने वातावरण बनाउन सरकारसँग उनले आग्रह गरेका छन् ।
घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन नकारात्मक प्रभाव रोक्नुपर्ने उनको भनाइ छ ।सामाजिक सञ्जालमा पाेस्ट गर्दै प्रचण्डले स्थानीय पार्टी पंक्तिलाई परिस्थितिलाई सामान्य बनाउन सहजीकरणको भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।बाराको सिमरामा बुधबार जेनजी युवाहरू र एमाले कार्यकर्ताबीच झडप भएको थियो । एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत लगायतका नेता सिमरा आउने थाहा पाएपछि जेनजी युवाले रोक्न खोज्दा तनाव उत्पन्न भएको थियो । बिहीबार पनि सिमरा बजार तनावग्रस्त बनेको छ ।

