काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्नेमा जोड दिएकी छन् । बुधबार कीर्तिपुरमा बसेको त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभामा विश्वविद्यालयको कुलपति समेत रहेकी प्रधानमन्त्री कार्कीले विश्वविद्यालयलाई स्वायत्त ढङ्गले काम गर्ने वातावरण बनाउनुपर्ने र राजनीतिबाट मुक्त बनाउनुपर्ने बताएकी हुन् । असारमा पारित हुनुपर्ने वार्षिक नीति कार्यक्रमका लागि मङ्सिर पर्खनुपर्ने अवस्था विश्वविद्यालयका लागि समेत राम्रो नभएको उनले बताइन् ।
प्रधानमन्त्री कार्कीले मुलुकको आर्थिक अवस्थामा सोचेजस्तो विकास हुन नसकेकाले त्यसको असर विश्वविद्यालयदेखि सबै ठाउँमा परेको बताइन् । उनले विश्वविद्यालयहरू पनि शैक्षिक र प्रशासनिक रूपमा मात्रै नभई आर्थिक रूपमा समेत आत्मनिर्भर हुनुपर्ने धारणा राखिन् ।
त्यसका लागि विश्वविद्यालयको नाममा भएको पूर्वाधारलाई प्रयोग गर्न उनले सुझाव दिइन् । प्रधानमन्त्री कार्कीले विश्वविद्यालयको गुणस्तर अभिवृद्धि गर्न सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन् । त्रिविसभाले चालुआर्थिक वर्षका लागि विश्वविद्यालयको नीति कार्यक्रममा प्राज्ञिक तथा प्रशासनिक पक्षलाई पुनःसंरचना गर्ने, शैक्षिक तथा पाठ्यक्रम सुधार, परीक्षा सुधार, संस्थागत सुधार, सूचना प्रविधिमार्फत डिजिटल रूपान्तरण र अनुसन्धानका लागि स्रोतसाधनको व्यवस्था गरिने लगायतका प्रस्तावलाई पारित गरेको छ ।
ADVERTISEMENT

