काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सडक दुर्घटना न्युनिकरणका लागि युवा जागरण र सचेतना अपरिहार्य भएको वताएका छन् । मन्त्री गुप्ताले सडक दुर्घटनाकै कारण वर्षेनी कैयौंले अकाल मृत्युवरण गर्नुपरेको जनाए ।
शुक्रबार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको सन्दर्भमा राष्ट्रिय युवा परिषद् र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित कार्यक्रममा मन्त्री गुप्ताले भने, ‘प्रहरी , युवा , यातायात व्यवसायी र यातायात मजदुर सबै मिलेर सडक दुर्घटना न्युनीकरण गर्नुपर्दछ ।राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले सडक दुर्घटना न्युनीकरणका लागि आम युवाहरुले जागरण र सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताए । बस्नेतले सडक दुर्घटना एक भयानक र विकराल समस्या वन्दै गएकाले यसविरुद्ध एकीकृत साझा अभियान जरुरी भएको बताए ।
प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले जनता र प्रहरी साथी भएर सडक दुर्घटना न्युनिकरण गर्नुपर्ने बताए । कार्कीले प्रहरीको एक्लो प्रयास मात्र पर्याप्त नहुने भएकाले आम युवा यसमा लाग्नुपर्ने बताए ।कार्यक्रममा नेपाल राष्ट्रिय यातायात ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले सडक दुर्घटना न्युनीकरणमा सामुहिक प्रयत्न आवश्यक भएको जिकिर गरे ।अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस( डिसेम्वर ५) को उपलक्ष्यमा आयोजित कार्यक्रममा उपत्यकाका करिव ५ सय चालक तथा सहचालक सहभागी थिए ।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा सडक दुर्घटना सम्वन्धि विभिन्न सचेतनामुलक प्रस्तुतीकरण गरिएको थियो ।अभिमुखीकरण कार्यक्रम पश्चात् उपत्यकाका विभिन्न ठाउँमा स्वयंसेवकको रुपमा परिचालित युवाहरुले गाडी र मोटरसाइकलमा सचेतनामुलक स्टिकर टांस्दै सडक दुर्घटना न्युनीकरणको सन्देश प्रवाह गरेको परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतमले जनाए ।

