कोहलपुर (बाँके) ।जेन्जी आन्दोलनपछि महिला जनप्रतिनिधिहरूको मनोविज्ञानबारे सामुहिक अन्तरक्रिया सम्पन्न भएको छ । सञ्चारिका समुह बाँकेको आयोजनामा जेन्जी आन्दोलनपछि महिला जनप्रतिनिधिहरूको मनोविज्ञानबारे अन्तरक्रिया सम्पन्न भएको हो । भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनमा महिला जनप्रतिनिधिहरूको भोगाई, अनुभव र त्यसपछिको मनोविज्ञानबारे खुला छलफल गनर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
अन्तरक्रियामा प्यानलिष्टका रूपमा निवर्तमान प्रतिनिधि सभा सदस्य तथा पूर्व स्वास्थ्य राज्यमन्त्री हसिना खाँ ,सुशीला वादी लुम्बिनी प्रदेश सभा सदस्य,कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदी,कोहलपुर नगरपालिका वडा नम्बर ११ कि वडाअध्यक्ष कल्पना शर्मा,
राजनीतिक विश्लेषक अर्जुन पोखरेल र जेनजी युवा प्रतीक्षा बस्नेत गेष्ट स्पिकरका रूपमा रहेका थिए । अन्तरक्रिया कार्यक्रमको पत्रकार रूपा गहतराजले सहजीकरण गरेकी थिइन् ।
निवर्तमान प्रतिनिधि सभा सदस्य तथा पूर्व स्वास्थ्य राज्यमन्त्री हसिना खाँले भदौ २३ गते आफू सिंहदरबारमा रहेको र आन्दोलन उग्र बन्दै गएपछि सुरक्षित स्थानमा गएको बताइन् । उनका अनुसार तत्कालीन सत्ताले जेनजीका कुरा नसुनेका कारण विद्रोह भएको हो । लुम्बिनी प्रदेश सभा सदस्य सुशीला वादीले आन्दोलनले देशमा नसोचेको मोड लिएको बताइन् । ञत्यतिबेलाको अवस्था भयपूर्ण थियो ।
ती दृष्य सम्झिदा अहिलेसम्म डर लाग्छझ उनले भने । अब युवामैत्री नीतिमा ध्यान दिनुपर्नेमा जोड दिइन् । राजनीतिक विश्लेषक अर्जुन पोखरेल जेनजी आन्दोलन विद्रोह भएको बताए । आन्दोलनले अब सत्ता पारदर्शी हुनुपर्छ भन्ने कुरा स्पष्ट पारेको उनको भनाई छ । उपप्रमुख सुवेदीले जेनजी आन्दोलनप्रति आफ्नो समर्थन भएपनि अराजक रूपमा आफ्नो घरमा तोडफोड भएको बताइन् ।
उनका अनुसार आन्दोलनको बेला घरमा बस्ने वातावरण नहुँदा लुक्नुपर्ने अवस्था थियो । उनले भनिन्,ञ मेरो घरमा तोडफोड भयो । मेरा छोराछोरीमाथि प्रहार भयो । हाम्रो परिवारले मनोवैज्ञानिक असर भोग्यो । त्यहाँबाट बाहिर निस्कन धेरै समय लाग्यो । कोहलपुर नगरपालिका वडा नम्बर ११ कि वडाअध्यक्ष कल्पना शर्माले आफूले जनताकै काम गरिरहेको बेला वडा र घरमा तोडफोड भएको बताइन् । जेनजीहरूले आफूलाई राजीनामा दिन दबाब दिएको बताइन् । आफूले राजीनामा दिन नमान्दा आफ्नो घरमा तोडफोड भएको उनले बताइन् ।
उक्त अवसरमा गेष्ट स्पिकरका रूपमा रहेकी जेनजी युवा प्रतीक्षा बस्नेतले भ्रष्टाचारविरूद्र,सुशासन र सामाजिक सञ्जाल बन्द फुकुवा गर्ने माग गरेर प्रदर्शन गरिएको बताइन् । उनका अनुसार भदौ २४ गतेको तोडफोड र आगजनीमा जेनजी संलग्न थिएन् । बाँकेमा समेत हामीले शान्तिपूर्ण आन्दोलन गरेका थियौ । त्यसमा अपराधिक तत्व आयो । पछि हामी निस्किएका हौ । सरकार परिवर्तन हाम्रो एजेन्डा थिएन,झ उनले भनिन् । अन्तरक्रियामा जिल्लाभर जनप्रतिनिधि र पत्रकारहरूको सहभागीता रहेको थियो ।
ADVERTISEMENT

