जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी जसपा नेपालका रामआशिष यादव निर्वाचित भएका छन् ।मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजन मार्फत निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । विपक्षमा भने २४ मत परेको छ । आज सदनमा जम्मा ९६ सांसद उपस्थित थिए ।सभामुखको आशनमा बसेकी उपसभामुख बबिता राउत इशरले यादव निर्वाचित भएको घोषणा गरेकी छिन् ।
रामआशिष यादवलाई सभामुख निर्वाचित गर्न नेपाली काँग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले प्रस्ताव गरेका थिए ।सुरुमै रामआशिष यादवलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा बहमुतले निर्वाचित भएकोमा सभामुखका अर्का प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार त्रिलोकी प्रसाद यादवको प्रस्ताव अघि भने बढाइएन ।सभामुखमा निर्वाचित यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।यसअघि नेकपा एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डललाई सातलीय गठबन्धनले पद अनुकुल अचरण नगरेको भन्दै गत मंसिर ३ गते दुई तिहाई बहुमतबाट पदमुक्त गराएका थिए । त्यसपछि सो पद रिक्त रहेको थियो ।

