काठमाडौं ११ जेठ,। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्याण्ड फिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । काठमाडौंको फोहोर नउठेर समस्या सिर्जना भएपछि आकस्मिक रूपमा फोहोर खसालिए पनि स्थानीयका मागप्रति सरकार प्रतिबद्ध रहेको बताएकी हुन् ।
छलफलका क्रममा धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भूमि पाठकले आयोजना प्रभावित क्षेत्रको प्राविधिक टोलीको अध्ययनअनुसार सरकारले जग्गा अधिग्रहण गर्नुपर्ने बताए । यस्तै अर्का सांसद हितबहादुर तामाङले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको फोहोर व्यवस्थापनमा देखिएका समस्या दीर्घकालीन समाधानका उपाय खोजेर अघि बढ्न सुझाव दिए ।
धादिङको धुनीबेंसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बन्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थापन सबैको साझा दायित्वको विषय भएको बताउँदै यसका व्यवहारिक पक्षमा ध्यान दिन आवश्यक रहेको बताए । उनले साइटमा फालेको फोहोर उचित रूपमा व्यवस्थापन गर्नुपर्ने बताए ।
बुधबार मन्त्रालयमा आयोजित सर्वपक्षीय छलफलमा मन्त्री झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटले काठमाडौंको फोहोर व्यवस्थापनमा नयाँ मोड ल्याउने बताइन् । बन्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थित गर्न स्थानीयको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनीहरूका मागप्रति नजरअन्दाज नगरिने उनले स्पष्ट पारिन् ।