काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन तत्काल आह्वान गर्न माग गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेटवार्ता गरेको छ ।नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकायको नेतृत्वमा गएको टोलीले आइतबार अध्यक्ष दाहाललाई भेटेर कांग्रेस संसदीय दलको निर्णयबारे जानकारी गराउँदै राष्ट्रिय सभा अधिवेशन अबिलम्ब बोलाउन आग्रह गरेको हो ।कांग्रेस राष्ट्रियसभा संसदीय दलको गत पुस १० गते बसेको बैठकले देशमा बदलिएको राजनीतिक विषम परिस्थितिमा असंवैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन भएको उल्लेख गर्दै सार्वभौम संघीय संसदअन्तर्गत हाल राष्ट्रिय सभा मात्र कायम रहेकाले जनताका आवाज उठाउन राष्ट्रिय सभाको बैठक आवश्यक रहेको निष्कर्ष निकालेको थियो ।
सोही निर्णयअनुसार राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि सम्बन्धित निकायसँग माग गर्न अध्यक्षलाई अनुरोध गर्ने निर्णय गरिएको कांग्रेसले प्रेस नोटमार्फत जनाएको छ ।भेटवार्तामा राष्ट्रिय सभा सदस्यहरू कमला देवी पन्त, किरणबाबु श्रेष्ठ, विष्णु सापकोटा र पदम परियारलगायत सहभागी थिए ।
ADVERTISEMENT

