वीरगंज- पर्सा निर्वाचन क्षेत्र नं. २ मा चुनावी गतिविधि तीव्र बन्दै जाँदा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानी को घरदैलो अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। वीरगंज महानगरपालिका वडा नं. २५ सिरिसिया टोलमा सम्पन्न घरदैलो कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय उपस्थिति देखिएको थियो।
टेमानीले घरघर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या र सुझाव संकलन गरेका थिए। स्थानीयहरूले सडक, ढल निकास, खानेपानी, सरसफाइ, बेरोजगारी तथा युवापलायनका विषय उठाएका थिए। ती समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता जनाउँदै टेमानीले विकास र सुशासनलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताए।
सिरिसियाका बासिन्दाले विगतका प्रतिनिधिबाट अपेक्षाअनुसार काम नभएको गुनासो गर्दै यसपटक सक्रिय र जिम्मेवार नेतृत्व रोज्ने मनसाय व्यक्त गरेका छन्। कार्यक्रममा स्थानीयले टेमानीलाई फूलमाला र खादा ओढाएर स्वागत गरेका थिए।
उम्मेदवार टेमानीले युवालाई लक्षित सीपमूलक तालिम, साना उद्यम प्रवर्द्धन, स्वरोजगार सिर्जना तथा कृषि आधुनिकीकरणमार्फत रोजगारी वृद्धि गर्ने योजना प्रस्तुत गरे। साथै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई सुदृढ गर्दै पारदर्शी प्रशासनिक अभ्यास लागू गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
सिरिसिया टोलमा देखिएको जनसहभागिता र प्रत्यक्ष संवादको शैलीले पर्सा–२ को चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। जसपाको बढ्दो सक्रियताले आगामी निर्वाचनमा कडा प्रतिस्पर्धाको संकेत दिएको विश्लेषण गरिएको छ।

