काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा देशभर चुनावी रुझान हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकछत्र लहर देखिएको छ । शुक्रबार दिउँसो तीन बजेसम्म रास्वपाले ८९ स्थानमा अग्रता लिएको छ । पुराना प्रमुख पार्टी नेपाली कम्युनिस्ट पार्टी ९, नेपाली कांग्रेस ७ र नेकपा एमाले ८ स्थानमा अग्रता लिएको छ । काठमाडौँ–१ बाट रास्वपाकी रञ्जु दर्शनाले खाता खोल्दा मुस्ताङ–१ बाट योगेश गौचन थकालीले खाता खोलेका छन् । अहिलेसम्म एमाले र नेकपाले एक स्थानमा पनि खाता खोल्न सकेको छैन । यो पटकको निर्वाचनमा कांग्रेस, एमाले र नेकपाका प्रभावशाली नेताहरू निकै पछाडि परेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो रहेको झापा–५ पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओली रास्वपाका वरिष्ठ नेता बालेन शाह भन्दा धेरै मतान्तरले पछाडि छन् । बालेन ५ हजार २५४ मतसहित अग्रता लिँदा ओली एक हजार २४८ मतले पछ्याइरहेका छन् ।पूर्वप्रधानमन्त्री ओली फराकिलो मतान्तरले पछाडि हुँदा रुकुम पूर्वमा पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायमै राखेका छन् । प्रचण्ड पाँच हजार ३९ मतले अग्रता कायमै राख्दा एमालेका लीलामणि गौतम एक हजार ६२४ मतले पछ्याइरहेका छन् । हरेक वर्ष निर्वाचन क्षेत्र फेर्दै आएका उनी यसपटक माओवादी आधार क्षेत्र रुकुम पूर्व पुगेका हुन् ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल प्रारम्भिक नतिजा अनुसार रौतहट–१ मा रास्वपाका रमेश चौधरीले मतान्तर बढाउँदै लगेका छन् । रास्वपाका राजेश चौधरीले एक हजार ४९९ मत प्राप्त गर्दा दोस्रो स्थानमा योगेन्द्र यादवले ६३१ मत प्राप्त गरेका छन् । तेस्रोमा अनिल झाले ३३६ मत पाउँदा नेपालले ३२० मत प्राप्त गरेका छन् ।
कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवारी दिएको सर्लाही–४ मा रास्वपाका डा. अमरेश कुमार सिंह झिनो मतले अगाडि छन् । सिंहले ९७६ मत प्राप्त गर्दा थापा ७४४ मतसहित पछ्याइरहेका छन् ।
काठमाडौँ–५ मा एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल एक हजार ९०८ मतसहित तेस्रो स्थानमा छन् । रास्वपाका सस्मित पोखरेल ११ हजार ४३३ मतले अग्रता लिइरहँदा कांग्रेसका महामन्त्री प्रदीप पौडेल तीन हजार ५५६ मतले पछ्याइरहेका छन् ।

