काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रतिनिधिमण्डलले मङ्गलबार भएको भेटमा भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनलाई विभिन्न उपहार प्रदान गरेको छ। उपलब्ध गराइएको सूची अनुसार उक्त उपहारहरूमा नेपालको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पहिचान झल्कने विशिष्ट सामग्रीहरू समावेश गरिएका छन्। उपहारको पहिलो सूचीमा अष्ट चिरञ्जीवीरहेका छन् । हिन्दू धर्मग्रन्थ अनुसार अष्ट चिरञ्जीवी भन्नाले युगौँयुगसम्म जीवित रहने वरदान पाएका आठ महान् व्यक्तित्वहरूलाई बुझिन्छ । धार्मिक मान्यता अनुसार यी चिरञ्जीवीहरूको स्मरण गर्नाले आयु, बल ज्ञान साहस तथा कल्याण प्राप्ति हुन्छ ।
उपहारको दोस्रो सूचीमा फ्रेममा सजाइएको ’पशुपतिनाथ मन्दिरको चित्र’ रहेको छ । यो भगवान् पशुपतिनाथ मन्दिरको एक सुन्दर हस्तनिर्मित चित्र हो, जसलाई अत्यन्त कलात्मक ढङ्गले तयार गरिएको छ । यस चित्रको निर्माणमा सुन र चाँदीको प्रयोग गरिएको छ, जसले यसको सुन्दरता र आकर्षणलाई अझ बढाएको छ. फ्रेममा सजाइएको यो चित्रले नेपालको धार्मिक, सांस्कृतिक तथा कलात्मक परम्पराको उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने हुनाले यो श्रद्धालु र कला प्रेमी दुवैका लागि विशेष महत्त्वको रहेको छ।तेस्रो उपहारका रूपमा ‘चन्दन’ प्रदान गरिएको छ । यो चन्दन भगवान् पशुपतिनाथको गर्भगृहमा स्थापित पवित्र शिवलिङ्गमा अर्पित गरिने चन्दनको प्रतीक हो । शिवलिङ्गमा लगाइने चन्दनबाट भगवान् शिवको तृतीय नेत्र तेस्रो आँखाको स्वरूप निर्मित गरिन्छ, जसलाई ज्ञान, शक्ति र दिव्य चेतनाको प्रतीक मानिन्छ । यसका अतिरिक्त यही चन्दन दैनिक पूजा–अर्चना तथा विभिन्न धार्मिक अनुष्ठानहरूमा पनि उपयोग गरिन्छ. चन्दनको पवित्रता, शान्ति, श्रद्धा र आध्यात्मिक ऊर्जाको प्रतीक मानिने भएकाले यसको विशेष धार्मिक महत्त्व रहेको छ।
ADVERTISEMENT

