काठमाडौं । सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।उनले दुई करोड २६ लाख १३ हजार १२३ रूपैयाँ ३६ पैसा अवैध आम्दानी गरेको अख्तियारको दाबी छ ।इन्जिनियर चौधरी सुरू नियुक्ति भएको मिति २०६५ पुस ११ गतेदेखि सम्पत्ति विवरण फाराम भरी आयोगमा बुझाएको मिति २०८२ असार २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी अख्तियारले जाँच गरेको थियो।
जाँच अवधिमा उनको पारिश्रमिक लगायत एकाघर सदस्यहरूको वैधानिक आम्दानी दुई करोड ७२ लाख ५५ हजार ७६६ रूपैयाँ छ पैसा देखिएको र सो अवधिको कुल व्यय (खर्च तथा लगानी समेत) चार करोड ९८ लाख ६८ हजार ८८९ रूपैयाँ ४२ पैसा देखिएकोले दुई करोड २६ लाख १३ हजार १२३ रूपैयाँ ३६ पैसाको स्रोत पुष्टि हुन नसकेको अख्तियारको ठहर छ। गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति परिवारको नाममा समेत रहेको देखिँदा चौधरी र उनकी श्रीमती अर्पना कुमारी उपरसमेत आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ।
ADVERTISEMENT

