काठमाडौँ — भोटेकोशीको बाढीमा परी ३९ देशका कम्तीमा ५ सय ९० जना विदेशी नागरिकहरू अझैसम्म सम्पर्कविहीन छन् । परराष्ट्र मन्त्रालयका अनुसार ३ सय २३ जना विदेशी नागरिकको उद्धार भइसकेको छ । खोजी तथा उद्धार कार्यमा सरकारले आफूसँग रहेको सबै स्रोत सधान र प्रयासलाई परिचालन गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले खोजी, उद्धार र राहतका कार्यमा छिमेकी देश तथा अन्तर्राष्ट्रिय समुदायसँग प्रभावकारी समन्वय समेत भइरहेको बताएका छन् । अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको उनले बताएका छन् ।
‘धेरै विदेशी नागरिक अझे बेपत्ता हुनुहुन्छ,’ सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मन्त्रालयमा आपत्कालीन नियन्त्रण कक्ष स्थापना गरी सम्बन्धित निकाय तथा बेपत्ता व्यक्तिका परिवारसँग समन्वयको काम भइरहेको छ ।’ उद्धार कार्यका लागि विदेशी विज्ञ टोलीको सहयोग समेत लिइएको उनले बताइ । सुरूङ उद्धारसम्बन्धी भारतबाट ११ जना र चीनबाट ९ जनाको विशेषज्ञ टोली क्रमश: मैलुङ चिलिमे र स्याफ्रुबेंसी तथा अपर त्रिशूली–३ ए मा उद्धारको कार्यमा संलग्न रहेको उनले जानकारी दिएका छन् । दक्षिण कोरियाबाट पनि उद्धारका लागि दक्ष जनशक्ति नेपाल आएको र उनीहरू परिचालित रहेको उनले बताए । डीएनए विश्लेषणका विशेषज्ञ १८ जना भारतीय फरेन्सिक विज्ञ पनि आएको उनले जानकारी दिए ।
प्राकृतिक प्रकोपबाट पीडित भएकाको पहिचान डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन टोली परिचालनका लागि सिंगापुरसँग समन्वय भइरहेको उनले बताएका छन् । अमेरिकालाई फ्रिजर, डीएनए परीक्षण किट चीन तथा सिंगापुरबाट उच्च क्षमताका ड्रोनलगायत आवश्यक गैरखाद्य सामग्री उपलब्धका लागि अनुरोध गरिएको छ । भारत, चीन, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया लगायतका देशबाट उद्धार तथा राहतका लागि आवश्यक महत्त्वपूर्ण सामग्रीहरू प्राप्त भएको छ । त्यसमा पुल निर्माणका संरचना, शव राख्ने फ्रिजर, जेनरेटर, सोलार, डीएनए परीक्षण किट, आपत्कालीन राहत सामग्री, पाल, कम्बल, स्लिपिङ ब्याग, खानाका प्याकेट, औषधिलगायत छन् । युएई, म्यानमार, अमरिका, कतार, बेलायत, अस्ट्रेलिया, दक्षिण कोरिया, जापान, न्युजिल्यान्ड, मलेसिया, सिंगापुर, म्यानमार, बंगलादेश, पाकिस्तान लगायतका मित्र राष्ट्र तथा संयुक्त राष्ट्र संघ र विश्व स्वास्थ्य संगठन, विश्व खाद्य कार्यक्रम र युनिसेफ जस्ता अन्तर्राष्ट्रिय संस्था तथा साझेदारबाट थप सामग्री आउने क्रममा रहेको प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।
ADVERTISEMENT

