काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा राजनीतिक अस्थिरता र बढ्दो वितृष्णाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अबको राजनीतिलाई नयाँ दिशा दिनुपर्ने बताएका छन् । पार्टीको १५ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले मुलुकमा देखिएका अनेकौँ प्रश्नहरूको जवाफ दिने सामर्थ्य कांग्रेससँग हुनुपर्ने बताए । सभापति थापाले प्रश्न गर्दै भने, ‘सबैतिर प्रश्न छन्, के हामीसँग ती प्रश्नको उत्तर दिने तागत छ ?’ उनले यी प्रश्नहरू वर्तमान सरकार आएपछि मात्र उब्जिएका नभई २०७२ सालमा संविधान जारी भएपछिको लामो समयदेखिको सञ्चित असन्तुष्टि भएको बताए । ‘दुर्भाग्य, नेपालमा प्रधानमन्त्री पद 'म्युजिकल चियर'(संगीत कुर्सी) जस्तो भएको छ। जबसम्म नेतृत्व अस्थिर रहन्छ, तबसम्म जनताको काम हुन सक्दैन,’ थापाले भने ।
जनताको काम गर्न नसक्दा राजनीतिप्रति बढेको वितृष्णाले विश्वव्यापी रूप लिएको बताए । उनले भने, ‘अहिले हरेक कुरामा अति–राजनीतिकरण भइरहेको छ। सबैलाई राजनीतिको आँखाले मात्र हेरिँदा जनता हैरान भइसकेका छन्।’ उनले कांग्रेस र एमालेलगायतका ठुला दलहरूले विगतमा गरेको सत्ताको अभ्यासमा गौरवभन्दा बढी शक्तिको उन्माद देखिँदा देशले सङ्कट भोग्नुपरेको स्वीकारे ।
ADVERTISEMENT

