काठमाडौं असार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटघाट गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार उनीहरूबीच शिष्टाचार भेट भएको हो।भेटको सुरुमा अध्यक्ष तिमिल्सिनाले लामो कूटनीतिक अनुभव भएको व्यक्तिलाई नेपालमा राजदूतको रुपमा स्वागत गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए । साथै राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल-भारत सम्बन्धले थप उचाइ प्राप्त गर्ने उनले अपेक्षा गरे ।
अध्यक्ष तिमिल्सनाले नेपाल र भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, प्राविधिक तथा जनस्तरको सम्बन्ध रही आएको उल्लेख गर्दै भने, ‘नेपाल-भारत छिमेकी राष्ट्र मात्र नभइ हाम्रो बहुआयामिक सम्बन्ध छ। हामीमध्ये कुनै एक देशलाई समस्या पर्दा अर्कालाई दुख्ने गर्दछ। त्यसैले हाम्रो सम्बन्ध विशेष छ।’

